‘एक्सन’ मा उत्रिए धरानका मेयर हर्क साम्पाङ, को कसको सातो गयो ?
धरान – धरान उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका हर्क साम्पाङ राई एक्सनमा उत्रिएका छन । खानेपानीका जार र बोतल उद्योग (खानेपानी उद्योग)हरुको विगविगीका कारण खानेपानीबाट बन्चित बनेका धरानबासीलाई राहत दिन राई एक्सनमा उत्रिएका हुन् ।
उनले धरानमा सबैभन्दा पहिला पानीको समस्या समाधान गर्ने भन्दै त्यहाँ मुख्य श्रोतमा पुगेर सरसफाई गरेका छन् । उक्त श्रोतको पानीबाटै धराने जनतालाई सुविधा दिन सकिने उनको भनाई छ ।
सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।
राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् । मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् ।
धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् ।
उनको यो कार्यले पानी उद्योगहरुको सातो मात्र गएको छैन बैकल्पिक व्यवसायका विषयमा पनि सोच्न थालेका छन । पहिलाका जनप्रतिनिधिहरुलाई लाभ दिएर व्यवसाय गरेका उनीहरु अहिले त्यो सम्भव नभएपछि निरास बनेका छन् । धरानमा नियमित पानी भएको खण्डमा उनीहरुको व्यवसाय चौपट हुनेछ ।