निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति !
काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । आयोगले आगामी कार्तिक २६ गते र मंसिर ४ गतेका लागि मिति प्रस्ताव गरेको हो ।
संविधानविद्हरुले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भनेर विवाद गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलिया भने मंसिरभित्रै निर्वाचन हुनुपर्ने गरी आयोगले मिति प्रस्ताव गर्ने बताए । श्रोतका अनुसार आयोगले कार्तिक २६ र मंसिर ४ गते निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी छ । बुधबार कुरा गर्दै थपलियाले भने, ‘मानसिक रुपमा निर्वाचन आयोग मंसिरभित्र निर्वाचन गर्नुपर्छ भन्ने कुरामा ढुक्क छ।’
स्थानीय चुनावको व्यस्तताकै बीच आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक आन्तरिक तयारी थालिसकेको उनले बताए। थपलियाले भने, ‘स्थानीय तहको निर्वाचन हुँदै गरेको छ र अझै पनि प्रक्रियामा रहेको हुनाले निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे नेपाल सरकारलाई भेटेर मिति सिफारिस गर्न बाँकी रहे पनि आयोग चाहिँ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक आन्तरिक तयारी गरिरहेको छ।’
आगामी कात्तिक २६ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नुपर्ने मिति गठबन्धनका नेताहरुले पनि प्रस्तावित गरेका छन्। यो मितिबारे औपचारिकरुपमा नभए पनि अनौपचारिक रुपमा आयोगले समेत सहमति जनाएको छ ।
निर्वाचन आयोगको सिफारिसमा मन्त्रीपरिषदको बैठकले निर्वाचनको मिति तोक्ने कानुनी प्राबधान छ ।