२६ लाख जाेगाउन आफ्नै श्रीमान चिन्दिन भन्दै पन्छिन लाग्दा एक महिला नराम्ररी फसिन्

सोमबार, २३ जेष्ठ २०७९

काठमाडौं -काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुन्डी र गैरकानुनी सटहीमा संलग्न रहेको आरोपमा कालिमाटीबाट एक जनालाई पक्राउ गरेको थियो  । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका( ७ स्थायी घर भएका ५४ वर्षीय जयकमल शाह कलवार रहेका छन्।

शाह बस्दै आएको दुइटा फ्ल्याटबाट १७ लाख ६६ हजार ३०० नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

हुण्डी कारोबारमा संलग्न एक महिला प्रहरीले घरमा आएर सर्च अप्रेसन चलाउदा आफ्नो श्रीमान् फरार रहेको र घरबाट प्रहरीले लाखौ रुपैयाँ  बरामत गरेपछि आफ़ुसंग रहेको २६ लाख जोगाउन आफ्नै श्रीमान  नचिन्ने नाटक गरेकी महिला प्रहरीको फन्दामा नराम्ररी फसेकी छिन।

हुन्डी कारोबारमा संलग्न रहेको सूचना पाएपछि प्रहरी कलवार बस्दै आएको घरमा शनिबार साँझ पुगेको थियो । प्रहरीका अनुसार कलवारले आफू एक्लै बस्दै आएको देखाउन भूईंतलामा अन्य व्यक्तिहरुसँग खाना खाने गरेका थिए । सोही तलामा उनको एउटा कोठा पनि थियो ।

तर, करिब १० लाख रुपैयाँमात्र उक्त फ्ल्याटमा भेटिएपछि प्रहरी त्यसभन्दा माथिको तलामा पनि छिरेको थियो । जहाँ एक महिला सुतिरहेकी थिइन् । सोधपुछका क्रममा ती महिलाले आफ्नो छोरा बाहिर गएको र श्रीमान भारतमा रहेको बताएपछि प्रहरीको शंका बढ्यो । त्यसपछि पहिलो तलामा रहेका व्यक्तिसँग सोधपुछ गर्दा उनीहरुले ती महिला कलवारकै श्रीमती रहेको बताएका थिए ।

तर, ती महिला उल्टै प्रहरीसँग झम्टिएकी थिइन् । प्रहरीका अनुसार चिन्दै नचिनेको मान्छेलाई मेरो श्रीमान भन्छौ भन्दै उनी जंगिएकी थिइन् । त्यही क्रममा उक्त फ्ल्याटमा एउटा परिचयपत्र भेटियो । परिचयपत्रमा रहेको तस्विर आफ्नो छोराको रहेको महिलाल‍े बताएपछि प्रहरीलाई अनुसन्धानमा सजिलो भयो । परिचयपत्रमा बाबुको रुपमा कलवारकै नाम थियो ।

प्रहरीले केरकार बढाएपछि ती महिलाले कलवार श्रीमान रहेको स्वीकारेकी थिइन् । त्यसपछि उक्त फ्ल्याटमा रहेको दराज खोलेर हेर्दा प्रहरीले २६ लाख नेपाली नगद बराबरको नेपाली र भारतीय रुपैयाँ बरामद गरेको थियो ।