पार्टीभित्र चिप्लेकिरा चोर नेता को रहेछन् मन्त्री आलेले सार्वजनिक मंचबाटै खोलिदिए पोल
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरूलाई चिप्ले कीरा र चिप्ले चोर भन्दै गलीगलौचमा उत्रिएका छन्।
मन्त्री आलेले आक्रोशित हुदै पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै गलीगलौचमा उत्रिएका हुन्। आलेले पार्टी भित्रका केही नेताहरुले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको समेत आरोप लगाएका छन् । उनले पार्टी भित्रका चिप्लेकिरा चोर केहीनेता भनेपनी कसले चलखेलको आरोप लगाएर बदनाम गर्न खोजेको छ भन्ने खुलाएनन।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताएका छन् ।
मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको बताए ।
आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’
मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए ।