एमाले अध्यक्ष ओलीले भगवानको हातखुट्टा भाँचेर पोखरीमा फाल्न लगाए !

आइतबार, १२ असार २०७९

काठमाडौँ – घटना हो २०६४ सालको पहिलो संविधान सभा निर्वाचनअघिको । राजनीतिक–सामाजिक क्षेत्रका अगुवाहरु दमक नगरको सर्वाङ्गीण विकास निर्माणका सन्दर्भमा छलफल गर्न सर्वदलीय प्रतिनिधिमण्डलका रुपमा काठमाडौँ आएका रहेछन्।

सबैजसो पार्टीका झापाली नेताहरुसँग भेटघाट गर्ने योजनाअनुसार उनीहरु ओलीको बालकोटस्थित निवास पुगेछन्। कुराकानीको सिलसिलामा नगरपालिकाको अलिक सीमान्तमा रहेको एउटा वडास्थित पोखरीको संरक्षणबारे चर्चा भयो। त्यसका लागि बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भयो।

जब आर्थिक प्रबन्धको विषयमा कुरा सुरु भयो, ओलीले प्रतिनिधिमण्डललाई सुझाव दिएछन्, ‘झापा फर्किंदा पाटन (ललितपुर) बाट एउटा विष्णुको मूर्ति किन्नुहोला। त्यो मूर्तिको नाक, कान, औँला सबै भाँचभुँच पारेर कसैले नदेख्नेगरी पोखरीको बीचमा फालिदिनू। त्यसपछि गाउँको कुनै गन्नेमान्ने वृद्धलाई ‘राति सपनामा यो पोखरीबाट भगवान निस्केर आफ्नो उद्धार गर’ भनेका छन् भन्न लगाउनू। तर, भाँचकुँच पारेर पोखरीमा मूर्ति फालिएको बारे तपाईंहरुबाहेक अरु कसैलाई जानकारी नहोस्।’

ओलीको थप सुझाव थियो, ‘वृद्धले त्यसो भनेपछि तत्काल पोखरीमा कोही हामफालोस् र त्यहाँ फालिएको मूर्ति बाहिर निकालोस्। यति भएपछि त्यो पोखरीमा देवताको बास रहेछ भन्ने विश्वास स्थानीयवासीलाई हुन्छ। यति विश्वास भएपछि पोखरीमात्र होइन, पुरै वडामा के–के गर्ने, कति विकास गर्ने हो, त्यसका लागि आवश्यक पर्ने चन्दा सहजै जम्मा हुन्छ।’