ढलेको रुखको विषयमा प्रतिनिधिसभाको बैठकमा उठ्यो आवाज
काठमाडौं—सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले मृत्यु भएका परिवारलाई उचित राहत र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा रुख ढल्दा तीनजनाको मृत्यु र केही घाइते भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।
उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ । अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे। उनले पुराना बस हटाउन पनि अनुरोध गरे।
सल्लाघारीमा रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
काठमाडौँबाट यात्रु बोकेर थिमिहुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिदा बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १२ जना घाइते भएको छ। उनीहरुको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ।