सकियो छानबिन समितिको अन्तिम बैठक, यस्तो आयो अन्तिम निश्कर्ष

बिहिबार, १२ साउन २०७९

काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको ‘अन्तिम बैठक’ सकिएको छ । बिहीबार बेलुवा समितिले प्रतिवेदन लेखन कार्य टुंग्याएसँगै अन्तिम बैठक पनि सकिएको हो ।

बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आजको बैठक नै अन्तिम भएको बताए । केही प्राविधिक कुराहरु बाहेक प्रतिवेदन लेखन कार्य सकिएको भन्दै उनले भोलि सभामुखलाई समय लिएर बुझाउने जानकारी दिए ।

प्रतिवेदनमा सर्वसम्मति भए÷नभएको विषयमा अर्यालले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘भोलि प्रतिवेदन हेरिसकेपछि सबै थाहा हुन्छ । अहिले भन्न मिल्दैन ।’

छानबिन समितिमा रहेका एमाले सांसद खगराज अधिकारीले प्रतिवेदन सर्वसम्मत नभएको संकेत गरे ।

बैठकबाट निस्किँदै उनले भने, ‘प्रतिवेदन अन्तिम चरणमा छ । सबैले आ–आफ्नो कुा राखियो । कतिपय कुरामा सर्वसम्मत भयो, कतिपय कुरामा छलफल नै बाँकी छ ।’

स्रोतका अनुसार एमाले सांसदहरु प्रतिवेदनको निस्कर्षमा सहमत छैनन् । तर, आजको बैठक नै अन्तिम भएको बताइएको छ । आजको बैठक सकिएपछि माओवादी सांसद देव गुरुङ सदस्यसचिवसँग बसिरहेका छन् ।

उनले आज बैठकमा बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर राय लिएका थिए । श्रोतले दिएको जानकारी अनुसार शर्माले करका दरमा अनाधिकृत व्यक्तिलाई प्रबेश गराएको प्रमाण नभेटिएको प्रतिवेदनको निश्कर्ष रहेको छ ।