देउवाको मुखबाट ‘खुस्कियो’ प्रचण्डलाई सुन्दै एलर्जी हुने कुरा

मंगलबार, १७ साउन २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा विघटन विनै प्रतिनिधिसभाको निर्वाचन होस् भन्ने चाहन्छन् । प्रचण्ड निर्वाचनबाट आएको नयाँ जनादेश पछि मात्र पुरानो संसदको कार्यकाल सकियोस भन्ने चाहान्छन । उनको चाहाना विपरित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेर निर्वाचनमा जाने बताएका छन् ।

‘जहाँ सरकारको संसदीय संरचना हुन्छ, त्यहाँ निर्वाचनको घोषणा गर्नेवित्तिकै प्रतिनिधिसभाको विघटन गरिन्छ । निर्वाचनको घोषणा हुने वित्तिकै सरकार कार्यवाहक सरकारको रूपमा रूपान्तरण हुन्छ ।’, प्रधानमन्त्री देउवाले एक कार्यक्रममा भनेका थिए ।

निर्वाचन घोषणा भएपछि सरकारले नयाँ किसिमको कानुन, अध्यादेश, नयाँ बजेट, सार्वजनिक नीति र कार्यक्रमहरू घोषणा गर्नुहुँदैन, ल्याउनुहुँदैन भन्ने चलन छ । किनभने निर्वाचनमा जाने घोषणा गरेर नयाँ नीति, कार्यक्रम ल्याइयो भने त्यसको जिम्मेवारी पछि आउने सरकारले लिन सक्दैन । उसले अघिल्लो सरकारको नीति तथा कार्यक्रम अनुसरण गर्नु न्यायोचित पनि हुँदैन ।

नयाँ सरकारले ताजा जनादेश अनुसार आफ्नो नीति तथा कार्यक्रम तय गर्छ । जनतालाई गरेको बाचा अनुसार उसले शासन गर्छ, कामचलाउ सरकारले लादेको भारी बोक्दैन । यदि देशमा कामचलाउ सरकार छ भने प्रतिनिधिसभाको अर्थ हुँदैन ।

किनभने सरकारलाई निरन्तर नियन्त्रणमा राख्न, सार्वजनिक उत्तरदायित्वबोध गराउन प्रतिनिधिसभा चाहिने हो । त्यो निरन्तरता, उत्तरदायित्व, बजेट वा कानुन पास गर्ने लगायत सारा कुराहरू सरकारले गर्न सक्दैन भने प्रतिनिधिसभा रहनुपर्ने औचित्य देखिंदैन ।