नर्भिक अस्पतालले भवन नभत्काउने भनेपछि फिल्डमै पुगे बालेन, अन्तिममा भयो यस्तो सहमति

मंगलबार, २४ साउन २०७९

काठमाडौं – नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना नभत्काउने बताएको छ । महानगरपालिकालाई पत्र लेख्दै अस्पतालले उक्त संरचनामा अत्यावस्यक सामाग्री भएको भन्दै हटाउन नमिल्ने जवाफ दिएको हो ।

उक्त जवाफ पछि मेयर बालेन शाह (बालेन्द्र) ले अस्पताल निरिक्षण गरेका छन् । उनी त्यहाँ पुगेपछि अस्पातलसँग एउटा सहमति भएको छ । संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने सहमति भएको हो ।

नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका बालेन मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो । त्यसपछि महानगर र अस्पताल प्राविधिकसहितको समिति बनाउन सहमत भएका थिए ।

प्राविधिकसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र नियमानुसार भत्काइने भन्दै महानगरका मेयर बालेनसहितको टोली फर्किएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।