आफैलाई चिन्ने प्रयास
काठमाडौँ – धेरै मानिसहरु आफ्नो क्षमता थाहा नपाएर भौतारिरहेका हुन्छन् । कसैले आफ्नो क्षमताको बारेमा जान्न नचाहेर पछि परेका हुन्छन् भने केही आफ्नो क्षमता थाहा भएर पनि निर्केवल गर्न नसक्दा असफल हुन्छन् । कोही क्षमता भन्दा बढ्ता भैदिन्छन् । आफ्नो क्षमता र हैसियत बुझ्न नसक्दा मुसाले खाएको हण्डरबारे एउटा कथा छ ।
एक दिन बाघले जंगलमा भव्य विवाह गर्यो । उक्त विवाहमा बाघले सबैलाई बोलायो । सबैलाई बोलाउँदा मुुसा छुटेछ । आफूलाई नबोलाएको झोंकमा एउटा मुसालाई बाघको सेखी झार्ने सनक चढेछ । सेखी त झार्ने तर कसरी ? उसले आइडिया निकाल्यो– ‘आफ्नै सानदार विवाह गर्ने र बाघलाई ननिम्त्याउने ।’
बाघलाई देखाउन झारेझुरेसँग लगनगाँठो कसेर भएन । कन्याको छनोटका लागि लिस्ट तयार भयो । सूर्यजस्तो तेजवान र शक्तिशाली संसारमा कोही छैन । सूर्यकै छोरी किन नमाग्ने ? सूर्यलाई खुशी पार्न अन्तरध्यानमा बस्यो । सूर्य खुशी भएर नजिकै आई बर माग्न भने । उसले भन्यो– ‘म तपाईंकी छोरीसँग विवाह गर्न चाहन्छु ।’ सूर्यले कुटनीतिक उत्तर दिँदै भने– ‘त्यो त मेरो लागि अहोभाग्य हुन्थ्यो तर म भन्दा शक्तिशाली त बादल हो । जसले मेरो शक्ति क्षीण गरिदिन्छ । बरु यो आग्रह बादलसंग गर ।’
मुसोले बादलसंग उही माग दोहोर्यायो । बादलले पनि आफूलाई हावाले तह लगाउने हुनाले हावासंग प्रस्ताव राख्न भन्यो । हावा पनि के कम ? उसले पनि पहाडले आफ्नो बेग रोकिदिने क्षमता राख्ने भएकाले पहाडसंग कुरा गर्न सुझायो । मुसो पहाडसामु उपस्थित भएर विवाहको प्रस्ताव राख्यो । पहाडले व्यथा सुनाउँदै भन्यो– ‘म भन्दा शक्तिशाली मेरो भीमकाय शरीरको फेदमा बस्ने काली नाम गरेको मुसा छ । त्यो मुसाले मेरो शरीर खनेर ओडार बनाएर थिलथिलो पारेको छ । उसको शक्तिका अगाडि म कायल भएको छु । तिनैको छोरीसंग विहेको कुरा चलाउ । तिम्रा लागि यो भन्दा शक्तिशाली र उपयुक्त बधु मैले देखेको छैन् ।’ आफूलाई बलशाली ठान्ने मुसो अन्ततः मुसैसंग सम्बन्ध गाँस्न पुग्यो ।
तसर्थ, आफ्नो क्षमता के हो, हैसियत के हो सबै निर्केवल गरेर निर्णय लिन पर्छ । नत्र जीवनमा मुसा जस्तै घुमरीमा परेर जिन्दगी सकिन्छ तर सपना पुरा हुँदैन ।