मन्त्री श्रेष्ठद्धारा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

आइतबार, ५ भाद्र २०७९

 

काठमाडौं—चितवनको भरतपुर महानगरपालिकामा आज भूमिहीन सुकुम्वासीहरूलाई मन्त्री श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी छिन । राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं। २ मा १२३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी हुन् ।

 

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिबद्धता अनुरूप भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले यही वर्ष भित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिने गरी काम गरिरहेको पनि जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म २०२१ सालयता नापी भएर पनि लालपुर्जा प्राप्त नगरेका ४९ हजार भन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेको भन्दै यही वर्षभित्र सबै गाउँ ब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपुर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने बताइन् ।

उनले यसअघिका आयोगहरूले भूमिहीनलाई लालपुर्जा वितरण गर्न धेरै काम गरिसकेको भने पनि काम केही पनि काम नभएको र धेरै पटक स्थानीय तहसँग तथ्याङ्क माग्दा प्राप्त गर्न नसकेको भन्दै अहिलेको सरकारले सम्पूर्ण काम प्रक्रियागत र नीतिगत रूपमा पुरा गरी भूमिहीनको समस्या दिगो रूपमा नै समाधान हुने गरी लालपुर्जा वितरण गरिएकाले यसअघिका आयोगले दिएका लालपुर्जा जस्तो यो लालपुर्जा फिर्ता नहुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरिन् ।