आखिर किन राम–राम भन्ने अवस्था आयो काङग्रेसमा

बिहिबार, २३ भाद्र २०७९

काठमाडौं—पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्दै अब राम–राम भन्ने अवस्था आएको बताएका हुन् ।

बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरे । उनले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे । उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए । पूर्व राष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए । पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।

पूर्व राष्ट्रपति यादवले भने, ‘काँग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु काँग्रसीलाई पढनलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन । किनकी टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वाडको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके । बिपी, गणेशमान,किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ ? बिपीको एक गुण पनि हामीमा छैन । काँग्रेसीमा त हुनैपर्ने हो । हामी कोहीमा छैन । काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी । जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम,राम,राम । काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ । उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस, एक जनाले पनि स्वीकार गर्नुभएन । चित्त दुखेर नबोलेका हुन ।’

कार्यक्रममा डा. शशांक कोईरालाले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरु रहेको भन्दै दुःख व्यक्त गरे । उनले आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा भएकोले फलको आश नगरी सेवा गरेर अघि बढन सुझाव दिए ।

उनले भने, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरहरुलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर उनीहरु के गर्छन भने बिरामीलाई टेलबमा राखेपछि भन्छन, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ । त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका । आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा हो ।’

कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।