हर्क साम्पाङले मागे जनतासँग बहुमूल्य उपहार !

शनिबार, १ असोज २०७९

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सहयोगी हातहरुसँग विभिन्न सामाग्री सहयोग गर्न अपिल गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत साम्पाङले खादा र माला लगान भन्दा आफूलाई आवश्यक सामाग्री उपहार दिन अपिल गरेका हुन् ।

‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैंती र बेल्चा उपहार ल्याइदिनु !’, साम्पाङले फेसबुकमा लेखेका छन्, ‘यो खादा माला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिनं ! जय श्रम ! जय उत्पादन !’

साम्पाङले विदाको दिन पारेर उपमहानगरपालिकाभित्र श्रमदान गरिरहेका छन् । श्रमदानबाट नगरपालिकाको एक रुपैयाँ खर्च नगरी साम्पाङले धरानमा पानी पुर्याएका छन् ।

उनले आफूलाई सम्मान गर्ने भन्दै धेरैले खादा र माला ल्याएर आएकोमा असन्तुष्टि जनाउँदै यस्तो अपिल गरेका हुन् । देश विदेशबाट उनलाई सहयोग गर्नेको घुइचो लागेको छ ।

साम्पाङले श्रमदानबाटै धरानलाई हरियाली बनाउने बृक्षरोपण गरेका छन् । त्यसमा पनि विरुवादेखि सम्पूर्ण कुरा सहयोगी मनहरुको सहयोगले सम्भव भएको हो ।