एक मिनेटको महत्व

शुक्रबार, २१ असोज २०७९

काठमाडौँ – एकजना भक्त ईश्वरसित साक्षात्कार गर्न र उनलाई केही प्रश्न सोध्न चाहन्थे । त्यसैले, उनी ईश्वरको खोजीमा निस्किए । ईश्वर खोज्दै जाँदा उनी एउटा अग्लो पहाडको टुप्पामा पुगे ।

उनले त्यहाँ साँच्चै ईश्वरको दर्शन पाए । ईश्वरको दर्शन पाउँदा उनी हर्षविभोर भए । ईश्वरले उनी त्यसरी त्यहाँसम्म आउनुको कारण जान्न चाहे । भक्तले आफू ईश्वरको दर्शनका लागि र केही प्रश्न सोध्न त्यहाँसम्म पुगेको बताए । भक्तले ईश्वरसित केही प्रश्न सोध्ने अनुमति मागे ।

ईश्वरले भक्तलाई प्रश्न सोध्ने अनुमति दिए । भक्तले पहिलो प्रश्न सोधे, ‘प्रभु ! हजुरका लागि सय वर्षको अवधि के हो ?’, ईश्वरले जवाफ दिए, ‘मात्र एक मिनेट ।’

भक्तले एकछिन सोचे र पुनः अर्को प्रश्न सोधे, ‘हजुरका लागि एक करोड रुपैयाँ के हो ?’ ईश्वरले तत्कालै जवाफ दिए, ‘मात्र एक रुपैयाँ ।’

ईश्वरको जवाफ सुनिसकेपछि भक्तले दायाँबायाँ हेरे, केहीबेर मौन रहे र भने, ‘प्रभु ! म हजुरबाट मात्र एक रुपैयाँको आशा राखेर यहाँसम्म आएको छु ।’ भक्तको कुरा सुनेर ईश्वर मुसुक्क मुस्कुराए र भने, ‘हुन्छ । त्यसका लागि एक मिनेट पर्ख है त ! सक्छौ नि पर्खिन ?