क्यानडामा पनि अन्तराष्ट्रिय विद्यार्थीले काम गर्न पाउने
काठमाडौँ – क्यानडाले अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि काम गर्न दिने व्यवस्था गरेको छ । क्यानडा सरकारले नोभेम्बर १५ देखि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई हप्तामा २० घण्टा काम गर्न दिने व्यवस्था गरेको हो ।
क्यानडाका अध्यागमन मन्त्री सेन फ्रेजरले क्यानाडाको श्रम अभावलाई कम गर्ने उद्देश्यले अस्थायी रुपमा यो व्यवस्था गरेको बताए । अध्यागमन मन्त्री सेनले क्यानडाको राजधानी ओटावामा ठूलो सुधारको घोषणा गर्दै विदेशी विद्यार्थीहरुले ३१ डिसेम्बर २०२३ सम्मका लागि मात्र यो सुविधा पाउने बताएका हुन् ।
क्याम्पस बाहिर काम गर्ने अधिकार (वर्क पर्मिट) भएका कलेजहरुमा भर्ना भएका विद्यार्थीले क्याम्पस बाहिर प्रति हप्ता २० घण्टा काम गर्न सरकारले अनुमति दिने मन्त्री सेन को भनाई छ । यो अस्थायी उपाय विदेशी नागरिकहरूका लागि मात्र भएको जनाइएको छ ।
सरकारले यसका लागि पहिले नै अध्ययन अनुमति आवेदन पेश गरिसकेको हुनपर्ने सर्त राखेको बताइएको छ । क्यानडा श्रम अभाव र बेरोजगारी दरसँग जुधिरहेको छ । क्यानडा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि विश्वको प्रमुख गन्तव्यहरू मध्ये एक हो।
क्यानाडा भरका प्रान्त र क्षेत्रहरूले पनि अन्तराष्ट्रिय स्नातक विद्यार्थीहरूलाई घरेलु कामदारका रुपमा राख्ने गरेको पाइन्छ । क्युबेकसहितका केही प्रान्तहरुले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई स्थायी बसोबासका लागि समेत व्यवस्था गरिदिएको छ । क्युबेक आदिवासीहरुको प्रदेश हो । त्यहाँको बोलीचालीको भाषा फ्रेन्स हो । अंग्रेजी भाषा सरकारी कामकाजको भाषाका रुपमा मात्र प्रयोग हुने गरेको छ ।
फ्रेन्स भाषा सिकेर क्यानडाको क्युबेक जाने विद्यार्थीहरुका लागि धेरै सजिलो हुने सरकारले जनाएको छ । तर त्यहाँका धेरै निजी कलेजहरुले वर्क पर्मिटको सुविधा लिएका हुँदैनन् । वर्क पर्मिट भएका कलेजहरु राम्रोसँग अध्ययन गरेर आवेदन दिदा भिसा आउने सम्झावना उच्च हुने यस क्षेत्रका जानकारहरुको भनाई छ ।
क्युबेक फान्सबाट छुट्टिएर क्यानडामा गाभिएको प्रदेश हो । त्यहाँ प्रदेशको आफ्नै सिस्टम छ । अध्ययनका लागि क्युबेक जाने सोचभएका विद्यार्थीका लागि अलि झण्झटिलो भने छ । अरु प्रदेशका कलेजमा अध्ययनका लागि आवेदन दिदा कलेजको अनुमति भए पुग्छ तर क्युबेकका कलेजमा जानका लागि कलेजको अनुमती मात्र भएर पुग्दैन प्रदेश सरकारको सर्टिफिकेट अफ एसेप्टेन्स अफ क्युबेक (सीएक्यु) पनि अनवार्य चाहिन्छ ।
सीएक्यु आएका विद्यार्थीहरुको भिसा भने सत प्रतिशत लाग्ने गरेको शैक्षिक परामर्श व्यवसायीहरुको भनाई छ ।