हुण्डी कारोवार गर्ने ठूलै माछा पक्राउ
काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरित वित्तिय कारोवार (हुण्डी) गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डी कारोबार हुँदै गरेको गोप्य सूचनाका आधारमा गएको प्रहरीले तीन जनालाई विशाल बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिशालबाजार स्थित अनुज सेन्टर र न्युरोड खिचापोखरी स्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट भारतको नयाँदिल्ली स्थायी घर भएका हाल ठमेल काठमाण्डौ बस्ने ५० बर्षिया कमल कान्त कुल्थिया, राजविराज १ सप्तरी घर भई नक्साल काठमाडौँ बस्ने ६७ बर्षिया निर्मल कुमार अग्रवाल र भारतको राजस्थान घर भई हाल ताहाचल बस्ने ५५ बर्षिय किशन गोपाल रहेका छन् ।
उनीहरुको साथबाट श्रोत नखुलेको ३१,८१,३८५।– (एक्तिस लाख एकासी हजार तिन सय पचासी रुपैयाँ) र व्यक्ति तथा संस्थाको नाममा काटिएका चेक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुलाई बुधबार दिउसो पक्राउ गरिएको थियो ।
