सुर्खेत २ बाट पनि कांग्रेस विजयी

बुधबार, ७ मंसिर २०७९

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीलाई पराजित गर्दै कांग्रेसका हृदयराम थानी विजयी भएका हुन् ।

कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।

थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् ।

०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।थानी यसअघि ०५६ र ०७० सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।