अलब्राइट कलेजले ६ महिनासम्म पनि फिर्ता गरेन विद्यार्थीको ट्युसन फि, कन्ट्री म्यानेजर फरार
काठमाडौँ – अस्ट्रेलियाको अलब्राइट इन्स्टिच्युटले भिसा रिजेक्सन भएको ६ महिना बितिसक्दा पनि विद्यार्थीको ट्युसन फि फिर्ता गर्न आनाकानी गरेको छ । नेपालबाट अध्ययनको लागि भन्दै कलेजको खातामा रकम जम्मा गरेर भिसा आवेदन दिएका विद्यार्थीको भिसा रिजेक्सन भएको थियो ।
धेरैको भिसा रिजेक्सन भएको थियो भने कतिपय विद्यार्थीले आफै उइथड्र (भिजा आवेदन फिर्ता) गरेका थिए । पैसा फिर्ता माग्दै निवेदन दिएको लामो समय वितिसम्दा पनि कलेजले पैसा फिर्ता नगरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको छ ।
अस्ट्रेलियाको कानुन अनुसार भिसा रिजेन्सन भएको विद्यार्थीले ट्युसन फि फिर्ता मागेको २८ दिनभित्र पैसा फिर्ता गरिसक्नु पर्छ । तर यो कलेजले ६ महिनाभन्दा धेरै समय वितिसक्दा पनि विद्यार्थीको पैसा फिर्ता गरेको छैन । नेपालबाट यो कलेजमा आवेदन दिएका १ सय बढी विद्यार्थीको पैसा फिर्ता नभएको शैक्षिक परामर्श व्यवसायीहरुले बताएका छन् ।
‘यति लामो समय विद्यार्थीको पैसा होल्ड भएको मैले देखेको छैन ।’, एक जना परामर्श व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कलेजले बदमासी गर्दा विद्यार्थीको भविश्य त विग्रीयो विग्रीयो कन्सल्टेन्सी व्यवसायीहरुको पनि बदनाम भयो । कलेजको नेपाल हेर्ने एक जना व्यक्तिका कारण विद्यार्थीले अनायासै दुःख पाए ।’
यो कलेजका कन्ट्री म्यानेजर हुन द्धिराज धिताल । उनी विद्यार्थी र परामर्श व्यवसायीको सम्पर्क भन्दा बाहिर छन् । मोटिभेटले सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् । उनी सम्पर्कमा नआएपछि हामीले मोवाइलमा म्यासेज गर्दा आफू बोल्न नसक्ने अवस्थामा रहेका भन्दै रिप्लाई गरे ।
उनले एकैचोटी धेरै विद्यार्थीको पैसा फिर्ता गर्न पर्दा समस्या भएको प्रतिक्रिया दिए । तर व्यवसायी र विद्यार्थीलाई भने उनले रिफण्डको कुरा आफ्नो नभएको भन्दै कलेजमै सम्पर्क गर्न आग्रह गर्ने गरेको व्यवसायीको भनाई छ । ‘धेरैलाई आफूले उक्त कलेजको कन्ट्री म्यानेजरको काम छोडिसकेको बताउने गर्नुभएको छ । कमिसन आउने भएपछि आफू होलसेलर भएर काम गर्ने अहिले आएर म छैन भनेर पन्छिने ?’, एक अर्का पीडित व्यवसायीले भने, ‘उनले जिम्मेवारी लिएको भए समस्या आउने थिएन । समस्याबाट भागेपछि विद्यार्थी, व्यवसायीलाई झन ठूलो समस्या भएको छ ।’
धितालले कलेजको प्रतिनिधि भनेर मार्केटिङ गरेको, आफ्नो कन्सल्टेन्सीमार्फत होलसेलरको काम गरेको र समस्या आउँदा जिम्मेवारी नलिएर भागेको व्यवसायीको भनाई छ । उनीहरुले नेपालको कानुनअनुसार काम नगर्दा राज्यले पनि करोडौं राजश्व गुमाएको, रिफण्डमा समस्या आउने गरेको र विद्यार्थीलाई दुःख दिएको व्यवसायीको भनाई छ ।
द्धिराज एजुकेशन म्याटरका संचालक हुन् । उनले आफ्नोबाट भिसा आवेदन दिएका विद्यार्थीको पैसा फिर्ता गरिसकेका छन् भने नजिकका व्यवसायीलाई डिसेम्बर ९ तारिखसम्म पैसा फिर्ता गर्ने बचन दिएको श्रोतको भनाई छ । यो कलेजमा एउटा विद्यार्थीले १० देखि १५ लाखसम्म ट्युसन फि बुझाएका थिए । उक्त पैसा कलेजले अनेत्र लगानी गरेर फसेको बताउने गरेको छ ।