चुनावी समिक्षा गर्न बोलाएको माओवादी पदाधिकारी बैठकमा उठ्यो विशेष महाधिवेशनको माग
काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावी समिक्षा गर्न बोलाएको पदाधिकारी बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा चुनावमा पार्टीको समग्र अवस्था खस्किएको भन्दै केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । बैठकमा उपस्थित केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने माग गरेका छन् ।
उनीहरूले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए । यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए ।
पार्टी पदाधिकारीले राखेको धारणाको सबै टिपोट प्रचण्डले गरेको एक नेताले बताए । ‘पार्टीले किन हार्यो रु किन मत कम आयो रु भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिवेदनको रुपमा प्रचण्डले तयार गर्ने छन् । त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’
बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्न समेत गरेका थिए । यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षडयन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तर्घातको विषय पनि बैठकमा उठेको बताइएको छ।