एनआईसी एसिया बैंकको सिस्टममा ह्याकरको हालिमुहाली, आँखा झिमिक्क पैसा गायव
काठमाडौँ – नेपालका ठूला बैंकहरु मध्ये एक हो एनआईसी एसिया बैंक । यो बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बर्षको झण्डै ४ करोड रुपैयाँ कमाउँछन् । एउटा कर्मचारीलाई ४ करोड खर्च गर्न सक्ने बैंकले सस्तो सफ्वेयर चलाउँदा ह्याकरको हालिमुहाली भएको छ ।
कुरा हो गएको कार्तिक २० गतेको । सिंगो देश निर्वाचनमा होमिएको बेला विराटनगरका व्यापारी नदिम दानिस जमालीको खाताबाट ह्याकरले बैंकको सिस्टम ह्याक गरेर सजिलै पैसा निकाले । २५ वर्षदेखि प्रिन्टिङ व्यवसायमा आबद्ध जमलीको विराटनगरस्थित शाखामा रहेको खाताबाट ह्याकरले १ लाख ४७ हजार ५ सय १० रुपैयाँ छिनभरमै उडायो ।
कात्तिक २० गते उनको ह्वाटसएप नम्बरमा ९८१२७६२७६० बाट म्यासेज आयो । अपरिचित व्यक्तिको मोबाइलबाट आएको म्यासेजमा एउटा पीडिएफ फाइलमा थियो । प्रिन्टिङ, डिजाइनसम्बन्धी काम गर्ने भएकाले उनले उक्त पीडिएफ फाइल खोले । उक्त पाइल खोल्दा नेपाली गर्ल डट एपिके भन्ने लिंक खुल्यो । ‘उक्त लिंकमा क्लिक गर्दा महिलाका नग्न तस्बिरहरू खुले । ती फाइललाई डिलिट गरेँ तर एकै क्षणमा मोबाइलका एप्सहरू सबै आफसे आफ चल्न थाले ।’, जमलीले भने, ‘लामो समय मोबाइल ह्याङ भयो । अफ गर्न खोजेँ भएन । त्यत्तिकैमा अफिस गएँ ।’
अफिल पुग्दा नपुग्दै एनआइसी एसियाबाट पैसा काटेको म्यासेज आएपछि उनी छाँगाबाट खसेजस्तै भए । उनको रकम ह्याकरले दुई किस्तामा निकालेको देखिन्छ । पहिलो किस्तामा ५० हजार, दोश्रो किस्तामा ९७,५१० । खाताबाटै पैसा हराएको विषय निकै संवेदनशील हो तर एनआइसी बैंक विराटनगर शाखाका कर्मचारीले वास्तै गरेनन् । ‘बैंकमा गएर पीडा पोखेँ । मेरो समस्या शाखा प्रमुखलाई भन्न दिएनन् । मेरो विषयलाई उनीहरुले गम्भीर रुपमा लिएनन् ।’ उनले भने ।
उनको खाताबाट किशोरकुमार मानन्धरको नाममा ५० हजार झिकिएको स्टेटमेन्टमा देखिएको छ । यो रकम मोबाइल नम्बर ९७४५८३१५०० को प्रयोगगरी यो रकम झिकिएको हो भने चन्द्रगढी नगरपालिका १० बस्ने महेश विश्वकर्माले ९७ हजार ५१० रूपैयाँ प्रभु बैंकमा ट्रान्सफर गरेको देखिएको छ ।
आफूले यी सबै विवरणहरुको प्रमाणसहित प्रहरीकोमा जाँदा पनि न्याया नपाएको बताए । ‘पहिलो चोटी प्रहरीकोमा जाँदा प्रमाण के छ भनेको थियो । प्रमाणसहित जाँदा पनि प्रहरीले निरास बनाएर पठायो ।’, उनले भने, ‘अहिले हामी निर्वाचनमा व्यस्त छौं, चुनाव सकिएपछि तपाईंको समस्या समाधान गर्छौं । भनेर फर्कायो ।’
प्रहरी प्रशासन र बैंकबाट तत्काल समस्या समाधान नहुने देखेपछि काठमाडौंमा रहेका दाजु अबिद कामिल जमालीलाई आफ्नो पीडा सुनाएँ । दाजुले तत्कालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पुगेर निवेदन दिए । त्यहाँको प्रहरीले पनि निर्वाचनमा व्यस्त भएको जवाफ दियो ।
‘झण्डै तीन करोड हाराहारी तलब–सुविधा खाने कान्छो सेलिब्रिटी सीइओ रोशनकुमार न्यौपानेहरूका लागि एक–डेढ लाख ठूलो रकम होइन होला तर हामीजस्ता दश नंग्रा खियाएर मासिक आठ–दश हजार बचत गर्नेका लागि यो त ठूलो रकम हो ।’, टेलिफोन संबादमा उनले भने, ‘आज एउटा सेवाग्राहीको खाताबाट डेढ लाख चोरियो । भोलि अर्कोको खाताबाट डेढ करोड चोरिएला अनि पर्सि अर्बौ रकम चोरिएला । त्यसबेला बैंक के गरेर बस्छ ?’
‘गम्भीर र पेचिलो प्रश्न यो कि अनि वार्षिक करोडौँ तलब बुझ्ने सीइओको बैंकको यो कस्तो एप्स हो ? जहाँ मामुली एक दुई जना केटाहरू प्रवेश गरेर अर्कोको खाताको रकम सहजै ट्रान्सफर गर्न सक्छन् ?’, उनी भन्छन्, ‘एउटा साधारण एप्स सर्भरमा कसरी प्रवेश गर्छ र अरुको खाताबाट पैसा ट्रान्सफर गर्छ ? यो विषयमा बैंक गम्भीर हुनुपर्छ कि पर्दैन ? जनताको सम्पत्ति सुरक्षा गरेर राख्छु भन्ने एउटा बैंकको प्रविधिभित्र जो–कोही पनि सहजै प्रवेश गरेर उसको एकाउण्ट नै ह्याक गर्न सक्ने गरी साइबर सेक्युरिटी राख्नेलाई कारबाही कसले गर्ने ?’
यसअघि पनि कमसल सफ्टवेयरकै कारण एनआइसी बैंकबाट ४१ करोड रुपैयाँ ह्याक भएको थियो ।