प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्छः देवेन्द्र पौडेल
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्छ भन्ने धारण व्यक्त गरेका छन् ।
उनले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिनुपर्ने बताएका छन् ।
‘जनमत सबै मिलेर काम गर भन्ने खालको छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसमा कांग्रेसले विश्वासको मत दिएर सहयोग गर्छ र गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
आज संसदको अत्यधिक मतसहित प्रचण्डले विश्वासको मत लिने दाबी पनि उनले गरे । ‘प्राप्त सूचना र भेटघाटका आधारमा सरकारले अत्यधिक मत प्राप्त गर्छ । राजनीतिक स्थायित्व, अर्थतन्त्र र कूटनीतिक सम्बन्धको सुधार लगायतका साझा एजेन्डा लागू गर्न कांग्रेस पनि जिम्मेवार बन्नुपर्छ ।’ विचार, सिद्धान्त र एजेन्डा मिल्ने दलहरूसँग सहकार्य, एकता र ध्रुवीकरण आवश्यक रहेको पनि उनले औल्याए।