शिक्षा क्षेत्र सुधार अभियानका अभियान्त शिक्षा मन्त्री

बुधबार, ४ माघ २०७९

काठमाडौं – शिक्षा क्षेत्र सुधार अभियानका अभियान्त शिशिर खनाल शिक्षा मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । ‘टिच फर नेपाल’ नामक गैर सरकारी संस्थाका सह–संस्थापक खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनबाट राजनीति अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । नेपालको सामुदायिक शिक्षाको गुणस्तर सुधार्न अब्बल भूमिका निभाउने संस्था ‘टिच फर नेपाल’ स्थापना गरेर ग्रामीण भेगमा उनी शिक्षा क्षेत्रमा काम गर्दै आएका थिए । शिक्षा सुधार र सामाजिक सुधारमा नेपालमै अब्बल काम गरेका खनाल ‘लो प्रोफाइल’मा बस्न रुचाउने व्यक्ति हुन् ।

शिक्षा क्षेत्रबारे राम्रो ज्ञान भएका खनालको हातमा अन्ततः शिक्षा मन्त्रालयको चाबी परेको छ । सन् २०१९ मा युवा सीईओ अवार्ड समेत पाएका उनी अमेरिकामा स्नातकोत्तर गरेलगत्तै नेपाल आएर शिक्षा क्षेत्रमै काम गर्न थालेका थिए । तुलनात्मक रूपमा कमजोर गुणस्तर रहेको ग्रामीण भेगका विद्यालयमा विदेशी विश्वविद्यालयमा पढेका तथा राम्रो विषयमा स्नातक उत्तीर्ण गरेका शिक्षकहरूमार्फत पढाउने उद्देश्यले सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरिएको थियो ।

उक्त कार्यक्रमले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अंग्रेजी लगायतका गाह्रो विषयको नतिजामा उल्लेखनीय सुधार ल्याएको थियो । ७ जिल्लाका ६० सामुदायिक विद्यालयमा ‘टिच फर नेपाल’ले सामुदायिक विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाउँदै आएको थियो ।

खनालले बारम्बार भन्ने गरेको एउटै कुरा हो शिक्षा । शिक्षा क्षेत्र समग्र देशको विकासको मेरूदण्ड भएकाले यो क्षेत्रलाई आफूले प्राथमिकता दिँदै आएको उनको भनाइ छ । नेपालको शिक्षा क्षेत्र राम्रो नहुनुको परिणाम तीन पुस्तासम्म बेहोर्नुपर्ने उनी बताउँछन् । दलीय हस्तक्षेपका कारण शिक्षा क्षेत्र सुधारमा जटिलता थपिरहेको उनको बुझाइ छ ।

२०६१ सालमा स्नातकोत्तर सक्ने बित्तिकै उनले श्रीलंकाको ‘सर्वोदय अभियान’ मा जोडिने अवसर पाएका थिए । सन् २००४ मा हिन्द महासागरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि आएको सुनामीले श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया र भारतलाई नराम्ररी प्रभावित बनाएको थियो । त्यही बेला उनले सर्वोदय अभियानमा जोडिने मौका पाएका थिए ।

उनी श्रीलंका पुग्दा सुनामीका कारण कम्तीमा १० लाख मानिस विस्थापित भएका थिए भने २ लाखको मृत्यु भएको थियो । त्यहाँ उनीहरूको टोली राहत तथा पुनर्स्थापनामा खटियो । श्रमदान गरेर उनको टोलीले दशौं हजार मानिसको घर बनाइदियो ।

नेपालमा शान्ति प्रक्रिया अगाडि बढेपछि उनले सर्वोदय श्रमदान अभियान नेपालमा समेत ल्याए । सो समूहमा भर्खरै कक्षा १२ पास गरेका वा स्नातक पढ्दै गरेका युवाहरूलाई उनले समेटे । उक्त समूहबाट निःशुल्क रुपमा कतै स्कुल, कतै पुस्तकालय बनाउन थालियो । त्यसका लागि पैसा नभएपछि उनीहरूले भाटभटेनीमा कार वास सेन्टर चलाएका थिए । कतै पानी पुरी बेच्ने काम पनि गरेका थिए ।

२०७४ सालको निर्वाचनपछि ‘टिच फर नेपाल’ सँगको आबद्धता उनले त्यागेका थिए । त्यसपछि उनी अन्य सामाजिक कार्यमा सक्रिय रहे । सामाजिक कार्य गर्दैै अगाडि बढेका उनले २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिए । उनले त्यो बेला सार्वजनिक शिक्षा सुधार, दिगो सहरी विकास जस्ता कुरा सदन मै उठाउने आफ्नो चाहना रहेको बताएका थिए ।

अब उनी ती कुरा संसद्मा उठाउने मात्र नभई नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमै पुगेका छन् ।