आचार्यको घटनाबाट पाठ सिकेर गम्भीर ढंगले अघि बढ्नुपर्छः उपमेयर
काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यको घटनाबाट पाठ सिकेर गम्भीर ढंगले अघि बढ्नुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा, ‘काठमाडौं महानगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहेको हैसियतले पनि मैले यो घटनालाई निकै गम्भीर र पीडादायी घटनाका रुपमा लिएको छु’ लेख्दै उनले सो कुरा बताएकी हुन् ।
काठमाडौं महानगरपालिकामा ७७ जिल्लाबाटै आफ्नो सुन्दर भविश्यका इन्द्रेणी सपनाहरु बोकेर आउने भन्दै उपप्रमुख डंगोलले सबै आशाहरुलाई निरासामा बदलेर आत्मदह गर्ने खवरले पीडादायी र व्याकुल बनाएको बताएकी छिन् ।
डंगोलले यस्तो दुखद् घटनालाई राजनीतिक आग्रह(पूर्वाग्रहको रङ पोतेर, एकअर्कालाई दोषारोपण गरेर उम्किने छुट हामी कसैलाई नभएको पनि उल्लेख गरेकी छिन् ।
‘नयाँ पुस्तामा आशाको दियो बाल्दै गरेका बेला प्रेमप्रसादहरुको आत्मदहले राजनीतिक दलहरु मात्रै होइन, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि र मुलुकको समृद्धिको सपना बोकिरहेका हामी हरेक नेपालीले थप गहन र जिम्मेवार भएर सोच्नुपर्ने बेला भएको छ ।’
उनले प्रश्न गरेकी छिन्, ‘यो घटनाबाट अब पनि नसच्चिए कहिले सच्चिने? यो घटनाबाट अब पनि पाठ नसिके कहिले सिक्ने?’