धुर्मुस सुन्तली फाउन्डेसनमाथि प्राधिकरणको एक्सन, बिजुली काट्न वितरण केन्द्रलाइ गर्यो पत्राचार

बुधबार, ११ माघ २०७९

काठमाडौं – धुर्मुस सुन्तली फाउन्डेसनमाथि नेपाल विद्युत प्राधिकरण एक्सनमा उत्रिएको छ।

चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता नतिरेको भन्दै प्राधिकरण  फाउन्डेसनमाथि एक्सनमा उत्रिएको हो।

महसुल असुलीका लागि धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्न काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रलाइ पत्राचार गरेको छ।

पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न भनिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ ।

७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पटक(पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताउँछन् । ‘हामीलाई बक्यौता उठाउनुपर्ने कानुनी दबाब छ, हामी बाध्य छौं,उनले भने, ‘विधिअनुसार नै लाइन काटेर बक्यौता असुल्छौं ।’

धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै परियोजनाबाट हात झिकेको छ । यस्तो ऋण तिर्ने कानुनी व्यवस्था नभएपछि सरकारले परियोजना जिम्मा लिएर निर्माण अघि बढाउने योजना समेत अलपत्र परेको छ ।