लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री बनाउन हुदैनः महन्थ ठाकुर
काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री बनाउन नहुने कुरा बताएका छन् । लोसपा अध्यक्ष ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृहमन्त्री नबनाउन सरकारसँग माग गरेका हुन् ।
महोत्तरीको मटिहानी पुगेका ठाकुरले भने,‘उहाँको नागरिकताबारे मात्रै होइन्, पासपोर्टमाथि पनि कानुनी प्रश्न हो । पासपोर्टबारे अनुसन्धान बाँकी नै छ । ’
ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे । उनले भने,‘वास्तविकता त उहाँले आफै सोच्नु पर्ने हो। त्यो कामहरू गलत भएको छ कि छैन रु उहाँले सहि ठान्नु भएको कुरो कानुनी रुपमा सहि देखिएन ।’
नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको ठाकुरको भनाइ छ।
सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुनः नागरिकताको प्रमाणपत्र लिएका छन्। नागरिकता लिगलगत्तै सोमबार नै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका छन्। लामिछानेमाथि नेपाल र अमेरिकाको राहदानी एकैपटक प्रयोग गरेको आरोप छ।