सफलताको सुत्र
काठमाडौँ – एकादेशमा एउटा ब्रायन नाम गरेको व्यापारी थियो । ब्रायनको व्यापार राम्रो थियो । जस्ले गर्दा उसको व्यवसाय पनि राम्रो चलिरहेको थियो । पछिल्लो एक वर्षसम्म उसको व्यापार निकै खस्कियो । ब्रायनलाई उधारो पैसा दिएका व्यक्तिहरु उसको घर आएर उ सँग पैसा माग्न थाले ।
कोही मोबाइल देखि पैसा छिटो फिर्ता गर भनेर कल गर्थे भने कोहि घरमा आएर पैसा माग्ने गर्थे । तर व्यापार एकदमै खस्किएको कारणले ब्रायनसँग आफ्नो उधारो तिर्ने त्यति पैसा थिएन । तसर्थ, यी सबै टेन्सनले गर्दा ब्रायनले केहि बेर आफ्नो समय पार्कमा बिताउने निर्णय गर्यो । उ २÷३ घण्टासम्म पार्कमा बसेपछि फर्कियो ।
पार्कबाट फर्किदै गर्दा उसको भेट एउटा बुढो मान्छेसँग भयो । त्यो मान्छेले ब्रायनको चिन्तित अनुहार देखेर दुःखको कारण सोध्यो । ब्रायनले आफ्नो समस्याको बारेमा त्यो बुढो मान्छेलाई सबै कुरा बतायो । ब्रायनको कुरा सुनेपछि त्यो बुढो मान्छेले भन्यो, ‘म तिमिलाई सहयोग गर्न सक्छु । तिम्रो नाम के हो ?’ ब्रायनले नाम भन्ने वित्तिकै बुढो मान्छेले १ करोडको चेक काटेर दियो र भन्यो, ‘म यो सहरको सबैभन्दा धनी मानिस हुँ । यो चेकको पैसा लग र ठिक एक वर्षपछि यहि ठाउँमा आएर मेरो पैसा फिर्ता गरिदेउ ।’
घर पुगेपछि, त्यो चेक चलाउनुभन्दा पहिला ब्रायनले आफ्नो मनमा सोच्छ । म सँग अब एक करोडको चेक छर्दै छ । त्यसैले म बरु एकपटक कम पैसाले आफ्नो व्यवसाय पुन सुचारु गरेर हेर्छु । यदि मेरो पैसा डुबिहाल्यो भने पनि व्याकअपको रुपमा यो एक करोडको चेक छदैँ छ । ब्रायनले त्यो चेक अहिले नचलाउने निर्णय गर्यो र त्यो चेक लगेर आफ्नो दराजमा राखिदियो ।
व्यवसायमा पहिलोदेखि नै अनुभव र ज्ञान भएको कारणले ब्रायनको व्यापार बढ्न थाल्छ । उसको व्यवसाय फेरी पुरानो समय जस्तै राम्ररी चल्न थाल्यो । केहि महिनामा उसले उधारो तिर्न सक्ने भन्दा पनि बढी पैसा कमायो । आफूले लगेको सबै उधारो चुक्ता गर्यो । त्यसपछि ठिक एक वर्ष भएपछि ब्रायन त्यो चेक लिएर फेरी त्यहि पार्कमा बुढो मान्छेलाई भेट्न गयो ।
केहि बेरमै त्यहि ठाउँमा बुढो मान्छे पनि आयो । ब्रायनले चेक फिर्ता गर्न खोज्दैथियो त्यतिनै बेला अस्पतालको एउटा नर्स आएर भनिन्, ‘धन्न मैले उहाँलाई यहाँ भेट्टाएँ, सँधै घर छाडेर भागी हाल्नुहुन्छ । सबैलाई म यो सहरको सबैभन्दा धनी मान्छे हो भन्नुहुन्छ । म आशा गर्छु हजुरलाई धेरै डिस्टर्ब गर्नुभएन होला ।’
यो कुरा सुनेर ब्रायन एकदम अचम्मित भयो । मनमनै सोच्दै भन्यो, ‘मतलब मलाई यो बुढो मान्छेले दिएको चेक फेक थियो । अब मलाई थाहा भयो म व्यवसायमा आफ्नो चेकले गर्दा होइन, म त त्यही चेकले गर्दा म भित्र आएको आत्म विश्वासले गर्दा सफल भएको रहेछु ।’
तसर्थ, कुनै पनि व्यक्तिले सफलता पाउनको लागि बाहिय कुरा भन्दा पनि आँफैमा विश्वास गर्न जरुरी छ । आत्मविश्वासनै सफलताको सुत्र हो ।