परामर्श क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध छु : शिक्षामन्त्री खनाल

बिहिबार, १९ माघ २०७९

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का उपाध्यक्ष शेषराज भट्टराईसँगको भेटमा खनालले समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका हुन् ।

व्यक्तिगत भेटघाट गर्न मन्त्रालय पुगेका भट्टराईसँग उनले परामर्श व्यवसायमा राज्यले हेर्ने दृष्टिकोषमा परिवर्तन गर्न आवश्यक रहेको बताएका थिए । इक्यानको अध्यक्षका प्रत्यासीसमेत रहेका भट्टराईले परामर्श क्षेत्रमा ल्याउन लागेको धरौटी, एनओसीमा देखिएका समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए ।

उनको जिज्ञासामा मन्त्री खनालले चासो दिदै यस क्षेत्रको समस्या समाधान गर्नु आफ्नो कर्तव्य भएको बताएका थिए । मन्त्रालयले यसअघि परामर्श क्षेत्रमा लगभग ३ करोड धरौटी राख्न पर्नेगरी कानुनी व्यवस्था गर्न शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका तयार पारेको थियो ।

तयार भएर कानुनी परामर्शका लागि कानुन मन्त्रालय पुगेको उक्त निर्देशिका मन्त्री परिवर्तन भएपछि शिक्षा मन्त्रालयमै फिर्ता भएको छ । मन्त्रीले चाहेको खण्डमा उक्त निर्देशिकामा भएको प्रावधानहरु सच्याएर फेरी कानुन मन्त्रालयमा पठाउन सक्नेछन् ।