पुस १० को स्मरण गराउदै ओलीले प्रचण्डलाई भने, एमालेलाई राष्ट्रपतिमा सघाउनुस्

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० को सहमति को स्मरण गराउदै आफ्नो पार्टीलाई राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको करिब दुई घण्टा लामो भेटमा ओलीले पुष  १० को सहमति को स्मरण गराउदै आफ्नो पार्टीलाई राष्ट्रपतिमा सघाउन आग्रह गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर राष्ट्रपति पनि यही गठबन्धन भित्रबाट चुन्नुपर्ने जिकिर गरेका थिए।

उनले पुस १० गते बालकोटमा राष्ट्रपति एमालेले पाउने सहमति भएकाले त्यही अनुसार राष्ट्रपति चुनिनु पर्ने बताएका थिए।

‘अध्यक्षको निवास बालकोट आएर राष्ट्रपति एमालेलाई दिन प्रचण्ड आफैं सहमति हुनुभएको हो, हाम्रो अध्यक्षले यही कुरा प्रधानमन्त्रीलाई भन्दै आउनुभएको छ, ओलीनिकट स्रोतले भन्यो।

प्रधानमन्त्री आधा(आधा कार्यकाल बाँड्ने पनि प्रचण्ड र ओलीबीच सहमति भएको उनले दाबी गरे।

प्रधानमन्त्री आधा्आधा कार्यकाल बाँड्ने कुरा भएपछि प्रचण्डले सभामुख पनि आधा(आधा कार्यकाल गर्ने प्रस्ताव भन्नुभयो र त्यसमा पनि सहमति भएको हो,’ उनले भने।

पुस १० को सहमतिबाट प्रचण्ड पछि हट्न खोजेको आशंका बढ्दै गएको ती नेताले बताएका छन्।

उहाँले अहिले नै एमालेको उम्मेदवार हुँदैन भनेर भन्नुभएको छैन। तर शंका गर्ने धेरै ठाउँ बन्दै गएको छ उनले भने, उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने भनेको के हो अझै स्पष्ट छैन। एमालको उमेदवार बाहेकका लागि राष्ट्रिय सहमति खोज्न लाग्नुभएको हो भने हामीलाई स्वीकार्य हुँदैन।

माओवादी केन्द्रका नेताहरूले भने पुस १० गते बालकोटमा सरकार निर्माणकाबारे मात्र सहमति भएको र राष्ट्रपतिमा कुनै सहमति नभएको भन्दै आएका छन्।

नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएपछि मुलुकमा राष्ट्रिय सहमतिको वातावरण बनेको र राष्ट्रपतिमा सोही अनुसार अघि बढ्नुपर्ने तर्क गर्दै आएको छ।

ओलीसँग आजको वार्तामा पनि प्रचण्डले राष्ट्रिय सहमतिको परिस्थिति बनेकाले त्यही अनुसार अघि बढ्नुपर्ने भनेको माओवादीका एक नेताले बताए।

हामीले अहिले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गरौं भनेको हो। त्यसकै लागि प्रधानमन्त्रीले प्रयत्न गरिरहनुभएको छ, माओवादी केन्द्रका ती नेताले भने,राष्ट्रिय सहमतिका लागि एमाले अध्यक्ष असहमत हुनुभएको छैन। तर कसरी सहमति खोज्ने भन्ने उहाँको जिज्ञासा छ।

राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न लागेको भनेर एमाले सशंकित छ।