राजासहितको हिन्दुराष्ट्र, संघीयता खारेजी लगाएतका माग गर्दै बानेश्वरमा प्रदर्शन

शनिबार, २० फाल्गुन २०७९

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंको नयाँबानेश्वरमा  प्रदर्शन गरेको छ।

राजासहितको हिन्दुराष्ट्र, संघीयता खारेजी बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग राख्दै प्रसाई नेत्रिवाको अभियान टोलीले शनिवार नयाँबानेश्वर प्रर्दशन गरेका हो ।

यसअघि प्रसाईले सोही एजेण्डा लिएर झापाबाट मेची महाकाली अभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा भेटेपछि प्रसाईले यो अभियान सुरु गरेका हुन् । उनको यो अभियानलाई राजावादी तथा हिन्दू राष्ट्र नेपालका पक्षधरहरुले साथ दिएका छन् ।

कार्यक्रममा सम्बोधनका क्रममा प्रसाईले हालका नेताहरुले राजाको पालामा बनेको उद्योग धन्दा बेचेर खाएको र नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न खोज्दा एउटा अपराधी जस्तो आँपको रुखमा झुण्डिएर मनुपर्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।

उनले भने– ‘हिजो कम्युनिष्ट नामका साथीहरुले सर्वहारा वर्गको कुरा गर्दै सर्वहारा वर्गको भोट लिएर भुँई मान्छेको कुरा गर्दै उहाँहरु त दरबारमा हुनुहुन्छ । सुकुम्बासी टोलबाट २२ रुपैयाँको भुक्के चप्पल लगाएर सिंहदरबार छिर्नुभएका उहाँहरुको काठमाडौँमा पाँच छ वटा घर भएका छन् । यहाँदेखि दुबईसम्म पैसा पुर्याउनुभएको छ । जुन जनतालाई देखाएर उनीहरु कम्युनिष्ट भए ती जनताको आज जंगलको बास छ । बिहान भएपछि बैंक र लघुवित्त भन्ने संस्थाको मान्छे आउँछ भनेपछि ती गाउँका महिलाहरुको जंगलको बास छ । यसको अन्त्य हामीले गर्नुछ ।’

आफू कम्युनिष्ट रहेको बताउँदै उनले आफूले सर्वहारा वर्गको आवाज उठाउँदा कम्युनिष्ट नामको पार्टीले आफूलाई कारवाही गरेको सुनाए । हिजो एकसय रुपैयाँको ३ रुपैयाँ ब्याज लिने गाउँका सामन्तजस्तै अहिले लघुबित्त र बैंक सामन्तको रुपमा गाउँ छिरेको उनले बताए । उनले तिनको अन्त्य गर्नुपर्छ भन्दा आफूलाई उल्टो कारवाही भएको उल्लेख गरे । पार्टीको क्लब छोडेर अहिले सडकमा आएको र नेपालको उच्च नागरिक राजा रहेको बताउँदै उनले मेचीमा लगेर धर्मसंस्कृति बचाउने दियो बालेको उल्लेख गरे ।

प्रसाईले लघुबित्त र बैंकहरुलाई चेतावनी समेत दिँदै ती संस्थाहरुबिरुद्ध आन्दोलन अघि बढाउँदै लैजाने चेतावनी दिए । उनले नेपाली नेताहरुले दुबईमा पैसा लगेर होटल रिर्सोट भिल्लाहरु बनाएको दावी समेत गरे । उनले गणतन्त्रले देशलाई ऋणमा दुबाएको भन्दै राजसंस्था स्थापनाको माग गरेका छन् ।