आयोगले भन्यो, उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नै गर्दैनौँ
काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने जनाएको छ ।
नेपालको संविधानको धारा ७० अनुसार राष्ट्रपति वा उपराष्ट्रपति फरक समूदायको हुने विषयमा उल्लेख गरिएकाले यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्न अनिवार्य भएकाले पुरुषको उमेदवारी दर्ता नगर्ने आयोगले जनाएको हो ।
चौथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा पुरुषको उम्मेदवारी दर्ता नहुने आयोगको भनाई छ ।
खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा फरक समुदायका उमेदवार पुरुष नै हुन पाउने कि नपाउने रु भन्ने बहस जारी छ ।
उपराष्ट्रपतिको उमेदवारी मनोयन शनिबार (भोलि) हुँदैछ । त्यसको पूर्वसन्ध्यामा आयोगले आज उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।
जसमा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को उमेदवारी दर्ता गर्न निर्देशन दिइएको छ ।
“राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ,” प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा खस आर्यतर्फबाट पुरुष निर्वाचित भएकाले उक्त समूदाय बाहेकको महिला वा अन्य (तेस्रो लिङ्गी) लाई उपराष्ट्रपतिको उमेदवार बनाउन निर्देशन दिइएको बताएका छन् ।