उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका तीन उम्मेदवार
काठमाडौं – उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनको तर्फबाट तीन जना उम्मेदवार हुने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट १ जना गरी उपपराष्ट्रपतिमा गठबन्धनको तर्फबाट तीन जना उम्मेदवार हुने भएका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जसपाबाट दुई जनाको (पुरुष र महिला) उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो । पुरुषमा रामसहाय यादव र महिलामा प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेका छन् भने सत्तारुढ गठबन्धनबाटै जनमत पार्टीले मतता झालाई उम्मेदवार बनाएको छ ।
एकीकृत समाजवादीका महासचिव देवुराम भुसाल भन्छन्, ‘अहिले ३ जनाको उम्मेदवारी दर्ता हुन्छ । अरु भोलि फेरि छलफल गरेर टुंगो लगाउँछौं ।’ सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।
तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।
तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।
यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । गठबन्धनमा साना दलहरुले जनमत पार्टीका उम्मेदवार ममता झालाई समर्थन गर्ने बताएका छन् ।