काठमाडौं लगाएत देशभरका यी स्थानमा भइरहेको छ वर्षा

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौं – पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा आज बिहानैबाट देशका केही भागमा वर्षा भइरहेको छ । बिहान सुदूरपश्चिमबाट सुरु भएको वर्षा अहिले कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भइरहेको छ ।

सुदूरपश्चिममा भने अहिले पानी पर्नेक्रम रोकिएको छ । “अहिले लुम्बिनी, कर्णाली, वाग्मती र मधेस प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ,” मौसमविद् गोविन्दकुमार झाका अनुसार केही समयदेखी काठमाडौंको पश्चिमी भागमा वर्षा भइरहेको छ ।” काठमाडौं उपत्यकामा मेघगर्जन पनि सुरु भएको उनले जानकारी दिए ।

काठमाडौंसँगै वाग्मती प्रदेशको मकवानपुर क्षेत्रमा अहिले वर्षा भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ मौसमी प्रणाली सर्नेक्रममा रहेकाले आज कोसी प्रदेशमा पनि वर्षा हुने मौसमविद् झाले बताए ।

“आज देशैभर वर्षा हुनेछ । केही समयपछि कोसी प्रदेशमा पनि वर्षा हुनेछ,” उनले भने, “पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमी प्रणाली अहिले सीमरा र वीरगञ्ज क्षेत्रमा पुगेको छ । उक्त क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।”