उपनिर्वाचनलाई लक्षित गरेर पार्टी नेताहरूको कारबाही फिर्ता
काठमाडौं— सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर पार्टी नेताहरूको कारबाही फिर्ता लिएको छ ।
पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने क्षेत्रहरू चितवन, तनहुँ र बारामा कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूको कारबाही फिर्ता लिएको हो। सहमहामन्त्री बद्री पाण्डेले पार्टीले उपनिर्वाचन हुने जिल्लाहरूमा २०७९ को निर्वाचनअघि अनुशासन उल्लंघन गरेका नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए । “२०७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उमेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवनका नेताहरूको हकमा पुरानै क्रियाशील सदस्यता क्रियाशील हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ,” उनले भने, “उपनिर्वाचनमा गर्ने कामलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।”
यो निर्णयले कारबाही भोगिरहेका पार्टीका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको कारबाही फिर्ता भएको छ । उनलाई २०७७ साउनमा पार्टीले कारबाही गरेको थियो । ०७४ को निर्वाचनमा रामचन्द्र पौडेललाई चुनाव हराएको आरोपमा उनलाई कारबाही गरिएको थियो । यस्तै, गएको निर्वाचनमा स्वतन्त्र चुनाव लडेका केन्द्रीय सदस्य दिनेश कोइरालाको पनि कारबाही फिर्ता भएको छ । उनी चितवनबाट स्वतन्त्र चुनाव लडेका थिए । २०७७ सालमा गोविन्दराज जोशीसँगै कारबाही भोगेका नेता पुष्करनाथ ओझाको भने कारबाही फिर्ता भएको छैन । उनलाई ०७४ को निर्वाचनमा तत्कालीन प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजू राणा देउवालाई चुनाव हराएको आरोपमा कारबाही गरिएको थियो ।