ढाकाले आयोगलाई पठाए लिखित स्पष्टीकरण, अडिओको आवाज ‘सम्पादित’ भएको ढिपी कायमै

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं – अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले सार्वजनिक भएको अडिओ टेपमा भएको आवाज सम्पादित भएको ढिपी कायमै राखेका छन् ।

आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले पार्टीको अनुशासन आयोगलाई पठाएको लिखित स्पष्टीकरणमा अडिओ टेपमा भएको आवाज सम्पादित भएको ढिपी नछोडेका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

स्रोतले भन्यो, ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।’

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए । तर, केही कानून व्यवसायीहरूसँग छलफलपछि तत्काल राजीनामा दिने मनस्थिति उनले बदलेको स्रोतले बतायो ।

श्रेष्ठको स्पष्टीकरणपछि अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ ।