कांग्रेसको होडबाजीको कारण बागमतीको मन्त्रिपरिषद् बिस्तार अझै अन्योलमा
काठमाडौं— बागमती प्रदेशको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसमा मन्त्री बन्ने होडबाजीको कारण मन्त्रिपरिषद् मन्त्रिपरिषद् बिस्तार अन्योलमा परेको हो । ११ सदस्यीय मन्त्रिपरिषद्मा हाल माओवादी केन्द्रका ४ तथा नेपाली कांग्रेसका दुई मन्त्री सहित ६ जना मात्र रहेका छन् ।
मन्त्रिपरिषद् बिस्तारमा ‘हाईकमाण्ड’ को निर्णय मान्ने भन्दै कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा तीर्थ लामा मन्त्री बने । ६ जना मन्त्री दाबी गरेको कांग्रेसले आन्तरिक कलहको कारण संसदीय दलका नेता बहादुर सिंह र काभ्रेबाट निर्वाचित तीर्थ मात्र मन्त्री भए । उनीहरू मन्त्री भएको विषयमा कांग्रेस संसदीय दलभित्रै सहमति नजुटेको नेताहरूको दाबी छ ।
कांग्रेसका एक सांसदले भने, ‘उहाँ (बहादुर सिंह) लाई संसदीय दलको नेता बनाउन हामीले निकै मेहनत गरेका थियौँ, तर मन्त्री बनाउने जस्तो महत्त्वपूर्ण विषयमा हामीसँग एकपटक पनि राय, सुझाव लिनुभएन ।’ कांग्रेसभित्र इन्द्रबहादुर बानियाँ प्यानल र लामा प्यानल छन् । मन्त्री बन्नको लागि दुबै प्यानलबाट ‘लामो लिष्ट’ बहादुरसिंहको हातमा पुगेको तर बहादुर पहिले आफै मन्त्री बनेपछि समस्या भएको ति सांसदको भनाई रहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले पनि कांग्रेसकै कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘सारा संसारलाई थाहा भइसक्यो, हामीले मन्त्रिपरिषदलाई किन बिस्तार गर्न सकेनौँ भनेर, अरू दलसँगै समस्या नै छैन, कांग्रेसले ढिलाइ गर्दा समस्या भइरहेको छ ।’ कांग्रेसले पार्टीको समस्या देखाउँदै मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषद बिस्तारमा समस्या उत्पन्न भएको र यसको कारण सरकार सञ्चालनमा नै समस्या पर्न थालिसकेको जम्कट्टेलको दाबी छ । मुख्यमन्त्री जम्कट्टेलले आफूले एमालेले सरकारबाट बाहिर जाने निर्णय गरेकै दिनबाट नेपाली कांग्रेससँग सरकार विस्तारको पहल गरिरहेको तर उनीहरूको आन्तरिक कुरा नमिल्दा समस्या भएको भनाई छ ।