रास्वपा सांसद ढाकामाथि कारबाहीको तयारी सुरु
काठमाडौं— रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीको तयारी सुरु गरेको छ ।
सांसद श्रेष्ठलाई छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाहीको तयारी गरिएको हो । रास्वपाका एक नेताले कस्तो खालको कारबाही भन्ने विषयमा पार्टीको बैठकले निर्णय गर्ने बताए । छानबिन समितिले श्रेष्ठसँग मंगलबार एकघण्टा बयान लिएको थियो । त्यसपछि समितिले प्रतिवेदन पार्टीमा बुझाएको छ । ‘प्रतिवेदनका आधारमा’ उनलाई कारबाहीको तयारी गरिएको छ । छानबिन समिति स्रोतले दिएको जानकारीअनुसार बयानका क्रममा श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका थिए ।
उनले छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले ‘कोर टिम’को खुलासा गरिदिने चेतावनी दिएका हुन् । तर अहिलेसम्म ‘कोर टिम’मा को को छन् भन्ने कुनै कुरा कसैलाई जानकारी छैन । श्रेष्ठले पार्टीभित्रकै केही नेताले आफूलाई फसाउन लागिपरेको भन्दै नेतृत्वले सहयोग गर्नुपर्ने बताए। सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उनले घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो । बयानका क्रममा पहिले श्रेष्ठले आफ्नो भनाई नरहेको बताएका थिए । “कसैले क्यारिकेचर गरेर बनाएको भन्ने बयान थियो,” एक सदस्यले भने, “तर समितिमा पछि उहाँले गल्ती महसुस गर्दै आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभयो ।”
यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको जानकारी दिए । उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको हो ।