कन्सल्टेन्सीले ठगेको भन्दै एनओसी शाखामा पर्न थाले उजुरी

बुधबार, २९ चैत्र २०७९

काठमाडौं – शैक्षिक परामर्श व्यवसायीहरुले विद्यार्थीलाई ठगेको भन्दै वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी शाखा) मा उजुरीहरु परेको छ । जापानमा भाषा अध्ययनको लागि पठाइदिने भनेर प्रलोभन देखाई विद्यार्थीलाई ठगेको भन्दै शाखामा उजुरी परेको हो ।

२०७६ सालमा लाखौं रकम लिएर हालसम्म विदेशमा अध्ययनको लागि नपठाई ठगी गरेको भनी विद्यार्थीले गुनासो गरेको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख तथा नेपाल सरकारका उप-सचिव बासुदेव वस्तीले बताए ।

‘उजुरी गर्ने विद्यार्थीको संख्या बढ्दै गएको छ ।’, वस्तीले भने, ‘पछिल्लो समय रामेछाप स्थायी निवासी पीडितहरूले जनही रु १४ लाख ३२ हजार, रु ११ लाख ९४ हजार र रू ११ लाख २९ हजार पैसा लिएर हालसम्म आफूहरूलाई घर न घाटको बनाएको बताउँदै उजुरी गर्नुभएको छ ।’

शाखालाई प्राप्त उजुरी अनुसार कारवाही चलाएको वस्तीको भनाई छ । ‘यस सम्बन्धमा शाखाले सम्बन्धित कन्सल्टेन्सीसँग सोधपुछ गर्दा पैसा लिएको स्वीकार गरेको छ ।’, उनले भने, ‘हप्तादिनभित्र पीडितहरूको रकम फिर्ता गरिदिने आश्रवासन दिएकाले र यसको लागि पीडित पक्ष स्वयंले पनि केही दिन पर्खन शाखालाई आग्रह गरेपछि कानूनी कारवाहीको निमित्त प्रक्रिया अगाडी बढाइएका छैनौं ।’

शाखाले बुधबार ५ सय ९४ जना विद्यार्थीलाई एनओसी वितरण गरेको छ । ७ सय १५ वटा आवेदन आएकोमा ४ सय ४० वटाका आवेदन स्वीकृत गरेको शाखाले जनाएको भने १ सय ४१ जना विद्यार्थीको आवेदन अस्वीकृत गरेको छ ।