राजनीतिक कारणले सरकार सोचेजस्तो प्रभावकारी हुन सकेनः रेखा शर्मा
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार केहि राजनीतिक कारणले गर्दा सोचेजस्तो प्रभावकारी हुन नसकेको स्वीकार गरेकी छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । “सरकारको प्रभावकारिता जस्तो सोचेको हो, त्यस्तो भएन भन्ने हामी सबैलाई लागेको विषय हो । यसका निम्ति केही राजनीतिक कारण छन्,” उनले भनिन्, “सरकार निर्माणका सन्दर्भमा पहिलो गठबन्धन बन्ने, त्यो गठबन्धन भत्किने, अर्को बन्ने, सरकारले पूर्णता पाउन नसकेकाले जस्तो हुनुपर्ने त्यस्तो भएन भन्ने लागेकै विषय हो । तर, सरकारले गतिमै काम गरिरहेको छ ।”
उनले जनपक्षीय काम भइरहेको जिकिर गरिन् । सेवाप्रवाह, कानुन निर्माण र अर्थतन्त्रका विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । उनले सरकार गति लिने प्रक्रियामा भएको पनि बताइन् । “सरकारले गति लिँदै छ । कैयन् राम्रा काम पनि भएका छन्,” मन्त्री शर्माले भनिन्, “जनताप्रति आशा जगाउनु सक्नु पनि ठूला कुरा हो ।”