कोशीका मुख्यमन्त्रीद्वारा आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ— कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

उनले मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री कार्कीले आफ्नो मुख्य उपलब्धिको रुपमा मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झारेको कुरा बताए। त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ । सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको पनि मुख्यमन्त्री कार्कीले बताए ।

१५ वटा स्थानीय तहहरुको अद्यावधिक योजना निर्माण अगाडि बढेको, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको पनि मुख्यमन्त्रीको १०० दिनको उपलब्धिमा उल्लेख छ । १०० दिनको समयमा प्रदेशसभाबाट दुई वटा विधेयक पास भएको, चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चार वटा नियमावली स्वीकृत गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् । उनले प्रदेश सरकारको चालु खर्चलाई २५ प्रतिशत कटौती गरेको बताएका छन् । प्रदेशमा किसानलाई ४०७ मेट्रिकटन प्राङ्गारिक मल किसानलाई उपलब्ध गराएको, व्यावसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई एक करोड १७ लाख अनुदान उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको पनि मुख्यमन्त्रीले आफ्नो उपलब्धिमा राखेका छन् ।

यस अवधिमा युद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिबासी जनजाति आन्दोलनका क्रममा मृत्यु भएका प्रदेशका १ हजार ४५० जनाको परिवारलाई जनही एक लाखका दरले १४ करोड ५० लाख उपलब्ध गराएको मुख्यमन्त्री कार्कीले बताएका छन् । मुख्यमन्त्री कार्कीले ८ लाख ३० हजार ६१० जनालाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाएको, ११६ किलोमिटर सडक कालोपत्रे भएको, ३ वटा झोलुङ्गे पुल निर्माण भएको, १५ वटा पुल निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताए ।