संवैधानिक निकायहरु रिटायर्ड क्लबजस्तो भयोः माधव सापकोटा
काठमाडौं— प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरु रिटायर्ड क्लबजस्तो भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । उनले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्ताव समेत गरे । त्यस्ता व्यक्तिहरु अख्तियार दूरपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको उनले तर्क गरे । लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धि समस्या समाधान हुने सांसद सापकोटाको भनाई थियो ।
‘हाम्रा संवैधानिक निकायहरु रिटायर्डहरुको क्लबजस्तो भएका छन । र, यहाँ गएर शक्ति प्रर्दशन गर्ने, आराम गर्ने थलोजस्तो भएको छ । अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेका मानिसहरु अख्तियारमा गएर बस्नु हुँदैन । कुनै पनि पटक लाभको पदमा पुगेका वा अख्तियारी प्रयोग गरेका त्यहाँ जानु भएको त त्यसले कुनै न कुनै रुपमा त्यहाँ प्रभावित तुल्याउछ, तुल्याउँछ’, उनले भने, ‘यस्ता नागरिकहरु जानु पर्यो, एक पटक पनि जिन्दगीमा लाभको पद नलिएको, अख्तियार प्रयोग नगरेको र विज्ञको रुपमा विकसित भएको मानिसहरुलाई छानियो भने मात्रै यी समस्याहरुको हल गर्न सकिन्छ । नकि ठूला नेताहरुलाई धारे हात लगाएर मात्रै यो कुराको समस्या समाधान गर्न सकिदैन ।’ सांसद सापकोटाले ठूला नेताहरुलाई धारे हात लगाउने भन्दा पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।