लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

आइतबार, १७ बैशाख २०८०

काठमाडौं— लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री नियुक्त ६ दिनमै विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभामा रहेका ८ दलको समर्थनमा प्रदेश प्रमुखबाट वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विशवासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाएका छन् । गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नमिलेका कारण आफूसँगै ३ बिनाविभागीय मन्त्रीलाई मात्रै जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको जनाएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि यसअघि सूचनामार्फत रोकिएको प्रदेशसभाको अधिवेशन बोलाइएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक वैशाख १९ गते मंगलवार बिहान ११ बजे बस्ने गरी तय भएको जानकारी दिएका छन् ।