ओलीले भने, ‘अब त कांग्रेसलाई राजनीतिक पार्टी भन्न पनि मन लाग्न छोड्यो’
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई राजनीतिक पार्टी भन्न पनि मन लाग्न छोडेको बताएका छन् ।
बुधबार मदन भण्डारीको ३० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार र सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई कुनै चिन्ता नभएको भन्दै कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडेको बताए। ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ– हावा न चाबाको! त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्दैन’, ओलीले भने।
उनले कांग्रेसलाई के गर्नुपर्ने हो? कसरी देशलाई सही बाटोमा लानुपर्ने हो भनेर सोच्न समेत सक्ने अवस्थामा रहेको बताए । ‘हाम्रो पार्टी एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने परिस्थिति छ’, ओलीले भने, ‘यसको अर्थ हामी कसैसँग मिल्दै मिल्दैनौ भन्ने होइन । तर सत्ता स्वार्थका लागि मिल्ने कुरा हुँदैन ।’