संसद्मा जाँदा अनौपचारिक पहिरन लगाएर जानुपर्छ भन्ने नीति रास्वपाको होइनः सन्तोष परियार
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा जाँदा अनौपचारिक अर्थात जिन्स र टिसर्ट लगाएर जानुपर्छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नीति नभएको बताएका छन् । परियारले कुनै सांसदले अनौपचारिक पोसाक लगाउने वकालत गरेमा त्यो व्यक्तिगत भनाई हुने पनि उल्लेख गरे ।
गत सोमबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले संसद् बैठकमा जिन्स र टिसर्ट लगाएर जान पाउनुपर्ने धारणा राख्दै त्यस्ता पोसाक लगाएर संसद्मा जान रोक लगाउनु नयाँ पुस्तामाथिको रणनीतिक हमला भएको टिप्पणी गरेकी थिइन् । उनले त्यस्तो पोसाक लगाएर संसद्मा जान कसैले रोक्न सक्दै नसक्ने टिप्पणी समेत गरेकी थिइन । सांसद श्रेष्ठको सो अभिव्यक्तिपछि राज्यको महत्त्वपूर्ण प्रमुख अङ्गको रूपमा रहेको संसद् सदस्यले मर्यादित पोसाकको खिल्ली उडाउन खोजेको भन्दै आलोचना बढेको छ ।
रास्वपाका प्रमुख सचेतक परियारले सोमवारको बैठकमा सांसद श्रेष्ठले पोसाकको बारेमा संसद्मा गरेको टिप्पणी पार्टीको धारणा नभई उनको व्यक्तिगत धारणा रहेको टिप्पणी गरे । प्रमुख सचेतक परियारले भने– ‘त्यो उहाँको व्यक्तिगत धारणा हो, पार्टीको धारणा हैन । संसद् बैठकमा जाँदा लगाउने पोसाकको बारेमा हाम्रो संसदीय दलको बैठकमा पनि कुरा उठेको थियो । पार्टी सभापतिले नै यस विषयमा वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्ने बताउनुभएको थियो ।’
सो पार्टीका सभापति एवं सांसद रवि लामिछानेले विगतमा नेपालमा बनेको कपडा मात्र लगाउने सार्वजनिक घोषणा गरेका थिए । तर सोही दलकी सांसद सुमना श्रेष्ठले भने संसद्मा टिसर्ट र जिन्स लगाएर जान पाउनुपर्ने पक्षमा वकालत गर्दै आएकी छन् ।