केही छैन भन्नु हुँदैन
काठमाडौं – धेरै पहिले एक सन्त आफ्ना शिष्यका साथमा कुनै गाउँमा भिक्षाटन गर्दै थिए । उनीहरू यो घरबाट त्यो घर, त्यो घरबाट यो घर गर्दै घरघर डुलेर भिक्षा मागिरहेका थिए । यसै क्रममा उनीहरू एउटा घरमा पुगे र भिक्षाका लागि याचना गरे । उनीहरूको आवाज सुनेर एक सानी बालिका बाहिर आइन् । बालिकाले सन्तसित भनिन्, ‘माफ गर्नुहोला, हामीसित तपाईंहरूलाई दिनयोग्य केही पनि छैन ।’
बालिकाको भनाइ सुनेपछि सन्तले भने, ‘त्यसो नभन छोरी, हामीसित केही पनि छैन भन्नु हुँदैन । ठिकै छ, केही छैन त के भयो ? तिम्रो आँगनमा माटो त छ नि ! हो, त्यही एक मुठी माटो देऊ ।’ बालिकाले तुरुन्तै आँगनको एक मुठी माटो उठाएर भिक्षापात्रमा हालिदिइन् । सन्त उनलाई आशीर्वाद दिएर बिदा भए ।
बाटामा उनका एक शिष्यले सोधे, ‘गुरुदेव, हजुरले भिक्षामा किन यो माटो स्विकार्नुभयो ? यो त हामीलाई कुनै काम लाग्दैन ।’ सन्तले शिष्यतिर हेर्दै भने, ‘हो, तिमीले भनेजस्तै यो माटो हामीलाई कुनै काम लाग्दैन । तर हेर, ती बालिका आज निकै सानी छिन् । उनले आजैदेखि ‘छैन’ भन्न सिकिन् र कसैलाई कुनै कुरा दिनबाट पछि हट्न थालिन् भने उनले भविष्यमा पनि कसैलाई केही दिनेछैनन् । तर, आज हामीलाई यसरी थोरै माटो दान गरेपछि उनमा दानको भावना जाग्नेछ । र, भविष्यमा आफू समर्थ भएपछि पनि अरूलाई सहयोग गर्न, दान दिन पछि हट्ने छैनन् । आजको यस घटनाले उनमा अरूलाई केही न केही सहयोग गर्नुपर्छ भन्ने संस्कारको विकास हुनेछ । किनकि, व्यक्तिले संस्कार सिक्ने सही उमेर बाल्यावस्था नै त हो ।’
तसर्थ, सानो उमेरदेखि वालवालिकालाई ‘छैन, होइन, सकिदैन, असम्भव’ जस्ता शब्दको प्रयोग गर्न नदिऊँ । उनीहरुलाई हरेक कुरा सम्भव छ, गर्न सकिन्छ, केही नभएपनि छ भन्न लगाउनु पर्छ । किनकी भगवानसँग एउटा मात्र शब्द छ, ‘तथास्तु’ ।