बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित
काठमाडौं— बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित भएको छ।
बिहान ११ बजे बस्ने भनेर बोलाएको बैठक प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक बस्न ढिलाइ भएको हो। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले परामर्श समितिको बैठकमा करको दरको विषयमा कुरा उठेको बताए।
उनले भने, ‘बैठक केही समयमा सुरु हुन्छ। उहाँहरूले आआफ्नो कुरा राख्नुहुन्छ।’ सोमबारको बैठकमा पनि करको दर हेरफेरमा बाहिरको व्यक्तिलाई संलग्न गराएको भन्दै भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका थिए।
त्यसो त यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका थिए।