सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति नेपाल टेलिकमको गम्भीर ध्यानाकर्षण
काठमाडौं— नेपाल टेलिकमले २०७९ जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमको सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रति सबै ग्राहकहरुलाई आश्वस्त हुन अनुरोध गर्छु ।’
उनले भने, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ । कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।’
अधिकारीले पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको समेत बताए ।