कांग्रेस जनताबाट टाढिदै गएको कुरा स्वीकारदै डा. कोइरालाले भने जनतासँग जोडिने कार्यक्रम ल्याउनु पर्छ

शुक्रबार, २६ जेष्ठ २०८०

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको कुरा स्वीकारेका छन् । उनले जनतासँग पार्टी टाढिँदै जानु दुःखद भएको भन्दै जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको बताए ।

‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ शेखरले भने । डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको कोइरालाले बताए । सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरे ।

संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै उनले चिन्ता व्यक्त गरे । विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको उनले बताए । राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको उनले बताए । ‘कहिलेकाही चुकेका पनि छौं । व्यवहारिक राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौं,’ कोइरालाले भने । गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णय प्रति कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

‘न्यायलयबाट सजाय तोकेका एकजना राजनीतिकर्मी मात्र होइन झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए,’ चितवनमा भएको कार्यक्रममा कोइरालाले भने । निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा थन्क्याउने कार्य भएको भन्दै सरकारले बजेटमा गरेको निर्णयमा आपत्ति जनाए । ‘यसले संबैधानिक अंगहरु अपहेलित र अप्रभावकारी हुने खतरा म देख्दछु,’ कोइरालाले भने । कोही नेता, जनता तथा पार्टी कार्यकर्ताले आफ्नो विवेक र स्वतन्त्रता कुनै नेताको चरणमा अर्पित नगर्न उनले आग्रह गरे ।