आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य छः वीरेन्द्रप्रसाद महतो

आइतबार, १० असार २०८०

काठमाडौं— वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले यस्तो बताएका हुन् ।

उनले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताए । महतोलेले भने, ‘अगामी बजेट व्यवस्थापन वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने गरी प्रस्ताव गरिएको छ । काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तु मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ ।’

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए ।