आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिन्छः उद्धव थापा

बिहिबार, १४ असार २०८०

काठमाडौं – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने पनि स्पष्ट पारे । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक रहेको उनको प्रतिक्रिया छ । उनले त्यसको जवाफ संसदबाटै दिने बताए ।

‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानु ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं’, थापाले भने, ‘त्यसका लागि ४ दल (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा)बीच एक भएर अघि बढ्ने सहमति भएको छ । सहमति अक्षरसः पालना हुन्छ । त्यसमा कुनै शंका गर्नुपर्दैनन् ।’

नेता थापाले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे । जनमतका आधारले मध्यावधिमा जानुपर्ने अवस्था आउन सक्ने उनको सङ्केत थियो । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनलाई राप्रपाको साथ छ । सत्तारुढ दलसँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् ।