सगरमाथा आरोहण गर्ने स्पष्ट मापदण्ड हुनुपर्योः सोनाम ग्याल्जेन शेर्पा

मंगलबार, १९ असार २०८०

काठमाडौं— राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताएका हुन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति समेत जनाए।

उनले भने, ‘आज पनि लाजमर्दो कुरा के भइराखेको छ भने सगरमाथा चढ्ने पनि एउटा मापदण्ड हुन्छ । सगरमाथा कहाँबाट चढेर कहाँबाट झर्नेलाई मान्यता दिने भन्ने पनि हुन्छ । तर नेपालको कुनै पनि ऐन, कानुनमा सगरमाथा यहाँदेखि यहाँबाट चढेर फर्कियो भने मान्यता दिने भन्ने कहीँ लेखिएको छैन । त्यसकारण कहिलेकाहीँ विवाद हुने गर्छ । हेलिकप्टरबाट गएर चढेको मान्छेलाई समेत मान्यता दिइन्छ । कोही मान्छे बेसक्याम्पबाट गएर चढेका हुन्छन् । यसलाई सगरमाथा चढेकै मानिन्छ । आखिर कुनलाई चाहिँ सगरमाथा चढेको मान्ने? त्यसकारण यो व्यवस्था हुनुपर्‍यो कि सगरमाथा कहाँबाट चढेर कहाँबाट झरेकोलाई मान्यता दिने भनेर ऐनमा व्यवस्था हुन जरुरी छ । आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस् । त्यहाँ सिजनल टुरिस्ट बस्दाखेरि कति प्रदूषण भएको छ । त्यसतर्फ सरकार गम्भीर छ कि छैन त? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन? म त केही पनि देख्दिन । पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंस पनि ल्याउन सक्छ । त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु ।’